नेपाली खेलाडीलाई भारतीय खेलाडीको सम्मान « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपाली खेलाडीलाई भारतीय खेलाडीको सम्मान


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग पराजित भएपनि भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन् ।

सोमबार श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । तर, नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेका बेला नेपाली खेलाडीलाई भारतीय खेलाडीले मेडल लगाएर सम्मान गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।

वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षति १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरूसँग भेट गरेका थिए । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिएका हुन् ।

जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिने माहोल भारतकै प्रशिक्षक मोन्टी देसाईले सिर्जना गरेका थिए । त्यही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।

सोही अनुसार भारत विरुद्धको खेलपछि पनि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट तीन नेपाली खेलाडीलाई मेडल दिइएको थियो । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस