एमाले लुम्बिनी अधिवेशनमा भोलि मतदान हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले लुम्बिनी अधिवेशनमा भोलि मतदान हुने


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ। सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान हुने भएको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

कँडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरू बताएका छन् । रिजाललाई पार्टी महासचिव शङ्कर पोखरेल निकटका नेताहरू प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले कँडेललाई दोहोर्‍याउने प्रयास गरिरहेका छन् । उनीहरूले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि कँडेलले आफ्नो गुट नभएको दाबी गरेका छन् ।

यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रूपमा १८६, अपाङ्गबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् ।

जसअनुसार १२ वटै जिल्ला कमिटीहरूले सहमतिमा नाम पठाउन अलग अलग बैठक सुरु भएका छन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरूको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछन् ।

सहमति नजुटेपछि अध्यक्ष मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया अघि बढाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस