काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
आज जनतासँग माओवादी : विशेष रूपान्तरण तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौं काम गरेको बताए ।
उनले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं साहसिक र जनपक्षीय कामहरू अगाडि बढाई रहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सृजना गरिरहेको छ ।’
सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविस्तार बढ्दै गएको जिकिर गरे ।