ओलीले भने-‘व्याख्यात्मक घोषणा एमसीसीले मान्दैन, सरकारले जनता झुक्यायो’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओलीले भने-‘व्याख्यात्मक घोषणा एमसीसीले मान्दैन, सरकारले जनता झुक्यायो’


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।

उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसिसीले त्यसलाई नमान्ने दाबी गरे । यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा जाने ओलीले बताए ।

‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’ ओलीले भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरूले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग हुन्छ भनेर तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए । ‘१२ बुँदे व्याख्यात्मक घोषणाका सन्दर्भमा तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसिसीले मानिसकेको छ, सम्झौताको अङ्ग हुन्छ भनेर संसदमा नै बोलेर नेपाली संसद्लाई धोका दिनुभयो, झुट बोल्नुभयो र गलत प्रभाव पारेर पास गराउने बाटो लिनुभयो’ ओलीले भने ।

एमसीसी पास गर्नु उपयुक्त हो होइन भन्ने विषयमा बेग्लै ढङ्गले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेर पारित गराएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले मङ्गलवार एमसीसीको उपाध्यक्ष नेपाल आएका बेला व्याख्यात्मक घोषणा मान्ने कि नमान्ने भनेर सोध्छु भनेका थिए । ओलीले यस विषयमा प्रधानमन्त्रीले सोध्न नसक्ने बताए ।

‘सोध्न किन पर्‍यो, उहिले नै एमसिसीले जवाफ दिएको छ, उहिले नै भनेको छ, सम्झौता भन्दा वरपर कसका के घोषणामा कुनै सरोकार छैन जान्दैनौँ भनेको छ’ ओलीले भने, ‘त्यो जवाफ पनि थाहा छ, उहाँले सोध्ने पनि होइन, जनता अलमल्याउनका लागि बोलेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस