काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा सभामुख र एक मन्त्री लिने सहमति कसैसँग पनि नगरिएको बताएका छन्।
राप्रपाले चाहे कोशीमा मुख्यमन्त्री बन्न सक्ने अवस्था रहेको उनले बताए।
‘कोशीमा सभामुख र एक मन्त्री लिएर राप्रपाले सरकारलाई सहयोग गर्ने प्रचार गरिएका छन्, यसमा सत्यता छैन, झुटो हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले भने, ‘प्रक्रियाको हिसाबले पनि राप्रपाले चाहेर पनि कोशीमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र विश्वासको मत दिने चरण समाप्त भइसकेको छ।’
अध्यक्ष लिङ्देनले आफू विदेशमा भएका बेला संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समिति नेतृत्व लिएका विषयमा अनेक टीका टिप्पणी भएको पनि बताए।
‘हामीले एउटा समितिको नेतृत्व गर्ने मौका प्राप्त गरेको विषयलाई लेनदेनसँग गाँसेर गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन भन्ने कुरा म सबै साथीहरूलाई स्पष्ट पार्न चाहन्छु।’
उनले कोशीमा सभामुख कसैसँग पनि मागिराख्नुपर्ने अवस्था नरहेको दाबी गरे। ‘सुरूको गठबन्धन गर्दा पनि बागमती र कोशी सभामुख राप्रपालाई परेको थियो। तर कोशीमा हाम्रो सांसद संख्या हेरेर सभामुख नलिइएको हो,’ उनले भने।
कोशीमा राप्रपाका ६ जना सांसद छन्।