सुन तस्करी छानबिन : समिति संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदलको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी छानबिन : समिति संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदलको बैठक बस्दै


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । प्रमुख दलका नेता सहभागी भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको हो ।

दलीय सहमति अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ ।

कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छन् । २ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यक्षेत्र र संरचनामा समझदारी बने साउन १० गते देखि अवरुद्ध रहेको संघीय संसद सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा १ बजेका लागि डाकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुको साथै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस