वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैर आवासीय नेपाली सङ्घ युकेको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैर आवासीय नेपाली सङ्घ युकेको माग


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ युकेले वंशजको आधारमा नेपाली नागरिकता पाएका गैर आवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन माग गरेको छ ।

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनको सिंहदरवार स्थित कार्यकक्षमा बिहीबार ज्ञापन पत्र बुझाउँदै गैर आवासीय नेपाली सङ्घ युकेका अध्यक्ष प्रेम गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३को दफा १० संशोधन गर्न माग गरेका हुन्।

‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैर आवासीय नेपालीहरू वंशज नागरिकका रूपमा बिदेसिएका नेपाली भएकाले उनीहरूको नेपाली वंश, परम्परा, भेषभूषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसँगको नातालाई चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साबिक व्यवस्थाले नेपालीको साबिकमा रहेको नागरिकता खोसेर सधैँका लागि गैर नेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै साबिकको व्यवस्था संशोधन गरी नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले ज्ञापन पत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनैतिक दलहरूको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्न गैर आवासीय नेपालीहरू सुझाव दिए।

Tags :
प्रतिक्रिया दिनुहोस