डोटीबाट बडिमालिका बाजुरा पठाइयो सरकारी डोल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डोटीबाट बडिमालिका बाजुरा पठाइयो सरकारी डोल


३२ श्रावण २०८०, बिहिबार


डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीबाट बिहीबार (आज) बाजुराको बडिमालिका मन्दिरका लागि सरकारी डोल पठाइएको छ ।

भाद्र चतुर्दशी तिथिका दिन लाग्ने बडिमालिका मेलाका लागि डोटीबाट डोल पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय डोटी र शैलेश्वरी मन्दिरमा पूजा(आजासहित दिपायलमा रहेको सशस्त्र प्रहरी बल हेड क्वाटर ३६ नम्बर गण, सिलगढीमा रहेको भैरव प्रसाद गण र जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले प्रशासन कार्यालय र शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारी सहितको डोल बडिमालिका मन्दिरका लागि पठाइएको हो ।

राणा शासन कालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने चलन रहे अनुसार सोही विधि परम्परा अनुरूप बिहीबार डोल बाजुरा पठाइएको प्रजिअ अर्यालले बताए । उनले भने, ‘राणाकाल देखि डोल पूजा आज गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोही अनुसार पूजाआजा गरेर डोल पठाएका छौँ ।’

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण भाद्र चतुर्दशी तिथिका दिन उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताए । डोटीबाट सरकारी डोल बडिमालीका पठाउने चलन डोटी राजाको पालाभन्दा पहिले छैटौँ शताब्दी देखि चलिआएको चलन हो यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरेको थियो । तर २०७२ साल देखि सरकारले खर्च कटौती गरेपछि शैलेश्वरी क्षेत्र विकास समिति र डोटीका स्थानीय तहहरूले खर्च व्यवस्थापन गर्दै डोल पठाउने गरेको उनले बताए ।

सिलगढीबाट डोलको यात्रा शुरु हुँदा देखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थ यात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशीर्वाद दिउन् भन्ने कामना सहित ठाउँ ठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गर्दछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीनवटा नदीको सङ्गम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबु आमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणी धामबाट कम्तीमा पनि ६ देखी ८ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा वर्षेनी भाद्र चतुर्दशी तिथिको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।
पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अङ्ग पतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको पाइन्छ ।

डोटीबाट प्रस्थान भएको सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न दुई साता समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट वर्षेनी डोल लैजाने चलन रहेको छ । ‘भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा वर्षेनी भक्तजनको भिड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो ।’ समुद्री सतहबाट करिब चार हजार भन्दा माथि उचाइमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस