२४ घण्टापछि खुल्यो नाग्म-गमगढी सडक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२४ घण्टापछि खुल्यो नाग्म-गमगढी सडक


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । विद्युत् लाइन तान्नेक्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्डअन्तर्गत नाग्म-गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ ।     

मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मङ्गलवारबाट विरोध गर्दै आएका थिए । तर, बुधबार भने स्थानीय र मृतकका आफन्तले दिनभरी नै सडक अवरुद्ध गरे ।  

मृतकको उपचारमा लागेको खर्च १८ लाख रुपैयाँ प्राधिकरणको तर्फबाट दावासिंह जेभी र गाडी समितिले आधाआधा रकम तिर्ने, मृतकको बालबच्चाको भरण पोषणको लागि ५ लाख राहत दिने, जेभीले मृतकको अन्तिम संस्कारको लागि ९० हजार उपलब्ध गराउने तथा परिवारको एक सदस्यलाई नेपाल विद्युत् प्राधिकरणले कर्मचारीमा नियुक्ति गर्नेलगायतका विषयमा सम्झौता भएपछि २४ घण्टापछि बन्द सडक खुलाइएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिए ।  

गत १४ साउनमा कनकासुन्दरी–२ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय  प्रशारण लाइनको काम गरिरहेका ४१ वर्षीय स्थानीय कर्णबहादुर रावतलाई तीव्र गतिमा आएको ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदाउनी गम्भीर घाइते भएका थिए । उनको भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।   

Tags :
प्रतिक्रिया दिनुहोस