अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न आयोगको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न आयोगको आग्रह


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत धनुषाकी आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार एक विज्ञप्ति जारी गरी निरन्तर अनशनका कारण उनीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्तहरू माइतीघरमा अनशनमा बसेका छन् । त्यस्तै वैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशनमा बसेकी छन् ।

‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’, आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले भनेका छन् ।

अनशनरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेको पनि आयोगले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस