मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएको हो । 

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा यही साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो । 

प्रतिरोपनी रु. एक करोड ८४ लाख ९२ हजार छ सय ८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । सहायक प्रजिअ गैरेका अनुसार उक्त ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ । 

उनका अनुसार जग्गा अधिग्रहणका लागि रु. २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम आवश्यक पर्नेछ । त्यसमध्ये जग्गाका लागि रु. १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि रु. तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिनेछ । 

प्रशासन कार्यालयले सो जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ सूचना प्रकाशित गरेको छ । उक्त सूचनाअनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको ९२०८० साउन २७० मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ । 

उनन्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस