एक महिनाभित्र ‘खाल्डा-खुल्डीरहित काठमाडौँ’ बनाउन निर्देशन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एक महिनाभित्र ‘खाल्डा-खुल्डीरहित काठमाडौँ’ बनाउन निर्देशन


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा-खुल्डीरहित काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौँका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले बताए ।

खानेपानी, नेपाल विद्युत् प्राधिकरण र वर्षातले काठमाडौँका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरू बर्सात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने मन्त्री ज्वालाले बताए ।

मङ्गलवार चक्रपथ बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौं बनाउने बताएका हुन् ।

‘दैनिक लाखौँ मानिस हिँड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’, मन्त्री ज्वालाले भने, ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अवस्था हेर्न म आफै नियमित आउँछु ।’

खानेपानी, नेपाल बिद्युत् प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ । खानेपानी, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरसहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस