प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन निर्देशन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन निर्देशन


२९ श्रावण २०८०, सोमबार


मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् । 

यो निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एनआइसियु र आइसियुबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताए । “अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छौँ”, डा. भुसालले भने । भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो । प्रदेशका सबै जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् । 

यस्तै प्रदेश मातहतको १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनर्स्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्क उपलब्ध हुने डा. भुसालले बताए । डा. भुसालका अनुसार प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन पत्र पठाइसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस