नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन् । भरतपुर-२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगत निरीक्षणका क्रममा उनले आग्रह गरेका हुन् ।

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुग्नुभएका प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरे ।

 स्थानीयसँग उनले कटान गरे लगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिए । उनले स्थानीयलाई भने, “तपाईहरु ढुक्क हुनुहोस् नदी बस्तीमा पस्न दिइँदैन ।” 

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुङ्गा भरेर राखेको छ । त्यसै गरी आज दिउँसोसम्म चार ट्रक ठुला ढुङ्गा राखेर नदी नियन्त्रण गरिएको छ । थप ढुङ्गा आउने क्रम जारी रहेको दाहालले जानकारी दिए । सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताए । 

सोही क्रममा उनले भरतपुर-२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । सो क्रममा सँगै पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरेका थिए ।

तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने उनको भनाइ थियो । तामाङ टोल र शिवालय मन्दिर छेउमा नदीले कटान थालेसँगै आवश्यक सावधानी तथा तटबन्धका काम गर्नुपर्ने देखिएको छ । नदी किनारलाई पाँच भागमा विभाजन गरेर तटबन्धको काम भइरहेको छ । कटान क्षेत्र पुगेका नारायणी नदी व्यवस्थापन आयोजनाका डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीले नदीले कटान गरेका कतिपय क्षेत्रमा आयोजना र निर्माण व्यवसायीले काम गरेका क्षेत्रमा उनीहरूलाई कटान रोक्न भनिसकिएको बताए । 

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू-भागमा काम थालिएको हो । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस