कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुवानमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुवानमा


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुवानमा परेको हो । 

कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले बताए । उनका अनुसार शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन् । 

प्रवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुवाएको बताउँदै पराजुलीले  शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए ।

मुस्ताङको कागवेनीमा ठूलो क्षति पुर्‍याएको कालीगण्डकी आइतबार रातिदेखि यस वर्षकै उच्च बहाबमा बगेको स्थानीयवासीले बताएका छन् । कतिबेला घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले आइतबार रातभर जाग्राम बसेको स्थानीय रवि भट्टराईले बताए । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको उनको भनाइ थियो ।

कालीगण्डकी र सेती खोलाको बहाब बढेर डुबानमा पर्ने चिन्ताले पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन् । चौध वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । 

विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँ त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । उनले विश्वकै ठुलो शालिग्राम शिला डुबे पनि पानी बजारसम्म आई नसकेको जानकारी दिए । 

अहिले पानीको बहाब उच्च बढेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म बहाब आइपुगे पनि बजारवासीलाई भने खतरा नभएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस