तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी नै बनेको छ ।

उनले मौसमअनुसार तरकारी खेती गरेका छन् । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनीसँग । “आफ्नो बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र रु बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो”, कार्कीले भने, “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।”

कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएका छन् । बेनी बजारमा उनीलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाए । प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्‍याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर रू. दुई हजारदेखि रू तीन हजारसम्म कमाउने गरेको बताए । उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रू दुई लाख बढी कमाइ भएको छ ।

मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताए । “दैनिक थोरै भनेको रू. दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँच सयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर रू दुई लाख ६५ हजार कमाएछु”, उनले भने ।

तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाएका छन् । कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्छन् । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुन् ।

कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आएका छन् । मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि ३८ वर्षिया सापकोटाको दैनिक रू सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन् । 

“हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रू एक हजार पाँच सयसम्म आम्दानी गरेको छु”, उनले भनिन् ।

कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रू. एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् । 

साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताइन् । बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताइन् ।

“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेको छु । अब सकुन्जेल यही काम गर्ने हो”, अप्सराले भनिन् । उनका अनुसार बेनी बजारमा प्रत्येक बिहान अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस