भक्तपुरमा नक्कली नोट १५ लाख बरामद « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भक्तपुरमा नक्कली नोट १५ लाख बरामद


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । भक्तपुरको चाँगुबाट बिहीबार साँझ नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट  र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका-४, चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेका मध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका-७ घर भई चाँगुमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएको थियो । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एकथान, कम्प्युटर एकथान, मोबाइल १२ थान र चार स्कुटर समेत बरामद गरेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई काठमाडौँको मूलपानीमा बस्दै आएका २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ ।

यसैगरी, नवलपरासीको सरावल गाउँपालिका-१ घर भई काठमाडौंमा बस्दै आएका पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई काठमाडौँको सामाखुसीमा बस्दै आएका २७ वर्षीय सागर आचार्य, झापा घर भई सामाखुसीमै बस्दै आएका २४ वर्षीय युवराज राई र अछाम घर भई काठमाडौँको मातातीर्थमा बस्दै आएका २३ वर्षीय अर्जुन बुढालाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस