लम्पी स्किन रोकथाम गर, किसानलाई राहत देऊ : मानव अधिकार आयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लम्पी स्किन रोकथाम गर, किसानलाई राहत देऊ : मानव अधिकार आयोग


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले पशुमा देखिएको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण प्रभावकारी रूपमा गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले लम्पी स्किनका कारण किसानहरूले पशु गुमाउनुका साथै पशुबाट प्राप्त गर्ने बृहत् लाभबाट वञ्चित भइरहेको उल्लेख गरेको छ ।

लम्पी स्किन रोग नियन्त्रण नहुँदा किसानको अधिकार, खाद्य अधिकार, सम्पत्तिको अधिकार प्रभावित हुनुका साथै खाद्य सम्प्रभुत्ता र सुरक्षामा समेत दीर्घकालीन रूपमा प्रभाव पर्न सक्ने देखिएको आयोगले बताएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट, कार्यक्रम, औषधि, खोप तथा सबै पालिकाहरूमा पशु चिकित्सक पठाउन आग्रह गरेको छ । त्यस्तै लम्पी स्किन रोगको पूर्ण रूपमा रोकथाम तथा नियन्त्रण गरी प्रभावित किसानलाई यथाशीघ्र राहत तथा क्षतिपूर्ति दिन पनि आयोगले आग्रह गरेको छ ।

पशुसेवा विभागका अनुसार लम्पी स्किन रोगका कारण १४ साउनसम्म ४८ हजार ८८० पशुको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ८ लाख ६७ हजार ८१० पशु निको भइसकेका छन् भने १ लाख ८३ हजार ८०१ पशु अझै संक्रमित रहेका छन् । हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई लम्पी स्किनविरुद्ध खोप दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस