काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने सम्बन्धमा मङ्गलवार बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा व्यक्त गरेका छन् ।
मङ्गलवार दिउँसो ३ बजे संसद् बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति निस्कने घिमिरेले बताएका छन् । तर संसद् अवरोध भइरहँदा जनताका आवाज रोकिएको भन्दै उनले सहमतिको विकल्प नरहेको बताए ।
‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधिकतम रूपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’सभामुख घिमिरेले सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।
बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको सभामुख घिमिरेले बताए । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो ।
सभामुख घिमिरेले संसद् खुलाउने सम्बन्धमा आफूले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्य कायम गर्न पहल गर्दै आएको बताए । ‘म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा छु । यही अनुरूप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ,’सभामुख घिमिरेले भने ।
सोमबार बानेश्वरस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो ।