लुम्बिनीमा मोदीले शिलान्यास गरेको भारतीय विहारको निर्माण सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीमा मोदीले शिलान्यास गरेको भारतीय विहारको निर्माण सुरु


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिस्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा भारतीय विहारको शिलान्यास गरेका थिए ।

आइतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षु भिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ ।

भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा पुर्‍याउने बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रूपमा मात्र सीमित नभई भगवान् गौतमबुद्धका कारण हजारौँ वर्षअघिदेखि नै सांस्कृतिक रूपमा जोडिएको बताए ।

बुद्ध जीवनका चार धाममध्ये एक बुद्ध जन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

भारतको उपस्थिति बुद्ध जन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको बताउँदै अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस