प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत : छानबिनको माग गर्दै उपप्रमुखलाई ज्ञापन पत्र, क्वार्टरमा लाग्यो ताला « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत : छानबिनको माग गर्दै उपप्रमुखलाई ज्ञापन पत्र, क्वार्टरमा लाग्यो ताला


१४ श्रावण २०८०, आइतबार


काठमाडौं । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला विवादमा तानिएका छन् । आफ्नो सरकारी क्वार्टरमा एक महिलासँग अनैतिक गतिविधि गरेको भिडिओ सार्वजनिक भएपछि उनी विवादित भएका हुन् ।

निरौलाले मदिराले लट्ठ भएकी महिलालाई स्पर्श र चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो । मदिराले लट्ठिएकी महिला निरौलाको सरकारी क्वाटर भित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । भिडिओमा देखिएको कोठा निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका एक अधिकारीले पुष्टि गरे । भिडियोले दमक नगरपालिकाकै बदनाम गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

नगरपालिकाको हाताभित्रै भएको उक्त घटनाबारे पालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता धर्म प्रसाद दाहालले बताए । उपलब्ध कार्यपालिका सदस्यहरूबिच तत्काल बैठक बसी घटनाबारे छानबिन गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । छानबिन पछि दोषी देखिए कारबाही हुने उनले बताए ।

नगरप्रमुख संरक्षणमा लागेको आरोप

विवादित प्रमुख प्रशासकीय अधिकृत निरौलाको संरक्षणमा नगरप्रमुख राम कुमार थापा नै लागेको आरोप लगेको छ । घटनाबारे छलफलका लागि कार्यपालिकाको बैठक बोलाउन र ज्ञापन पत्र बुझ्न चासो नदिएको उनी माथि आरोप लागेको हो ।

दमक नगरपालिकाका १३ जना कार्यपालिका सदस्यले विज्ञप्ति निकालेर नगरप्रमुख थापाले नगरपालिका परिसरभित्र अनैतिक कार्य गरेको भिडियो बाहिर आउँदा पनि कार्यपालिका बैठक नबोलाएको भन्दै घटना ढाकछोप गर्न उद्यत रहेको आरोप लगाएका हुन् । 

यसैगरी राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष विवेक शर्मा भट्टराईले पनि नगरप्रमुखले ज्ञापन पत्र बुझ्न चासो नदिएपछि उपप्रमुखलाई बुझाएको बताए ।

छानबिनको माग

प्रमुख प्रशासकीय अधिकृत निरौलाले महिलासँग अनैतिक कार्य गरेको भिडिओ सार्वजनिक भएपछि घटनाबारे छानबिनको माग गरिएको छ । घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले माग गरेको हो ।

कमिटीका अध्यक्ष विवेक शर्मा भट्टराईले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन् । उनले भने, ‘निरौलाको जुन हर्कत बाहिर आएको छ त्यसबारे छानबिन हुनु पर्छ ।’ 

कमिटीले घटनाबारे छानबिनको माग गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईँ ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख राम कुमार थापाले ज्ञापन पत्र बुझ्न चासो नदिएकाले उपप्रमुखलाई ज्ञापन पत्र बुझाइको अध्यक्ष भट्टराईले जानकारी दिए । नगरप्रमुख थापा र निरौला नातेदार हुन् ।

घटनाप्रति ध्यानाकर्षण : नगरप्रमुख

दमक नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलाको नाम जोडिएर आएका समाचार र पोस्टहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख राम कुमार थापाले विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाको नाम जोडिएर हाल विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरूमा आएका पोस्टहरू र समाचारप्रति दमक नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने साथै दमक नगरपालिका र नगरवासीहरूको प्रतिष्ठासँग जोडिने कुनै पनि विषयप्रति आँच आउन नदिन नगरपालिका सदैव सचेत रहने नगरप्रमुख थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमाण नष्टको प्रयास

सरकारी क्वार्टरमै अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि आरोपित निरौलाले प्रमाण नष्ट गर्ने प्रयास गरेका छन् । घटना बाहिरिएपछि प्रमाण नष्ट गर्न क्वार्टरस्थित बेड रुमको रङ्ग परिवर्तन गरिएको हो । विगतमा हरियो रङ्ग रहेकोमा बदलेर पहेँलो रङ्ग लगाइएको छ । 

निरौलाले प्रमाण नष्ट गर्न नयाँ रङ्ग लगाएको थाहा पाएपछि राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले उक्ता कोठामा ताला लगाएको छ । कमिटीका अध्यक्ष भट्टराईले निरौलाले क्वार्टरको कोठामा रंगरोगन गरेर प्रमाण नष्ट गर्न खोजेकोले उक्त कोठामा ताला लगाएको जनाकारी दिए । नियोजित रूपमा कोठाको रङ्ग परिवर्तन गर्न लागेको थाहा पाएपछि ताला लगाएको उनले बताए ।

निरौलाले ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी र झापामै सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस