शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित ५८औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम छैन ।’

उनले जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताए । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको बताए ।

‘जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ, उनले भने, ‘त्यस कारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ ।’

उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए । उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए ।

उनले भने, ‘यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन ।शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’

मन्त्री बस्नेतले काम जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस