अवरुद्ध मेची राजमार्ग सञ्चालन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अवरुद्ध मेची राजमार्ग सञ्चालन


१२ श्रावण २०८०, शुक्रबार


फुङ्लिङ । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो ।

ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबाट ठुल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय इलामका अनुसार करिब ३० मिटर दूरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिराले बिहीबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । सडक खुलेसँगै हिजो दिनभर रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए । ताप्लेजुङ भित्रने सवारीसाधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधन गन्तव्यतिर लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस