एमालेलाई गृहमन्त्री श्रेष्ठले भने-‘गल्ती नगरेको भए मजाले निदाउनू’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेलाई गृहमन्त्री श्रेष्ठले भने-‘गल्ती नगरेको भए मजाले निदाउनू’


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग्दैमा आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् ।

महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, भ्रष्टाचार र विकृतिको डङ्गुर थुपार्न आफूलाई हटाउन खोजेको आरोप लगाए ।

गृहमन्त्री श्रेष्ठले भने, अहिलेको सरकारले एक सूत्रीय कार्यक्रम बनाएको छ-सुशासन, समृद्धि र सामाजिक न्याय । तपाईँहरूले अहिले देख्नुभएको छ, भ्रष्टाचार र बेथितिविरुद्ध ठूल्ठूला अभियानहरू सञ्चालन गरिरहेका छौँ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्ने पहलकदमी अगाडि बढाएका छौँ । यस्ता कदमले विश्राम लिनेवाला छैन । अब पुग्यो भनेर सरकार बस्दैन ।’

उनले थपे,‘कसैले अब सरकार चुप बस्छ भन्ने आशा गरेको छ भने त्यो हुँदैन । भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरूको विरुद्ध हामी अन्तिम बिन्दुसम्म अगाडि बढ्छौँ । तपाईँहरूले देख्नुभएको छ, जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाउँछ, उसले पद छाड्दिनुपर्‍यो भनेर कोही कोही कराइरहेका छन् । ठान्नुभएको होला छाड्दिएदेखि त अब अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डङ्गुर फेरि लगाउन पाइन्थ्यो । अपहिलको छानबिनको प्रक्रिया रोकिन्थ्यो ठानेर कसैले भन्नुभएको छ भने म निवेदन गर्छु, त्यो दिन आउनेवाला छैन ।’

‘हामी छाड्नेवाला छैनौँ । कसैलाई सजिलो बनाउन छाड्नेवाला छैनौँ । हामी ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन तस्करबारे पनि छानबिन अन्तिमसम्म पुर्‍याउँछौँ । अनियमितता र कानूनको उल्लङ्घन भएको ठाउँमा कानूनको दायरामा ल्याउँछौँ । एकचोटी धम्काएपछि पछाडि जान्छ भन्ने कसैले नसोचे हुन्छ । हामी विचलित हुनेवाला छैनौँ । जनता हाम्रो साथमा छन् । यो देशको मुहार फेराउन अगाडि बढाउने सङ्कल्प हाम्रो साथमा छ,‘गृहमन्त्री श्रेष्ठको भनाई छ । 

सरकारको ठूलो अभियान चलिरहेको बेलामा जनताको साथ छ । तर, आफ्नो निजी स्वार्थमा मात्रै अस्तित्व देख्नेहरूले जनताको समर्थन र सत्यलाई देख्न सकेका छैनन् । म अहिले नै भन्छु, तपाईँहरू सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे १ मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौँ । अब छाड्नेवाला छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस