जङ्गली च्याउ खाँदा बर्दघाटका दुई जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जङ्गली च्याउ खाँदा बर्दघाटका दुई जनाको मृत्यु


१० श्रावण २०८०, बुधबार


जङ्गली च्याउ खाँदा बर्दघाटका दुई जनाको मृत्यु

काठमाडौँ । जङ्गली च्याउ खादा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका-६ का दुई जनाको मृत्यु भएको छ।

जङ्गली च्याउ खाएर बिरामी परेका बौदिकाली-६ माझडाँडाका ९९ वर्षीया लिला आले र ६६ वर्षीया उमाकुमारी आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताए।

उनीहरूले साउन ५ गते स्थानीय जङ्गलबाट च्याउँ लिएर खाएका थिए। च्याउँ खाएपछि पाँच जना बिरामी भएका थिए। एसपी तिवारीका अनुसार बिरामी भएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन्।

गम्भीर बिरामी परेका लिला  र उमाकुमारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज, भरतपुर लगिएको थियो। उमाकुमारीको गएराति उपचारका क्रममा मृत्यु भएको स्थानीय नेत्रबहादुर सारुले बताए।

लिलाको उपचार हुन नसकेपछि आफन्तजनले घर लगेका थिए। “लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि घर लगेका थियौँ। गएराति घरमै मृत्यु भयो,” नेत्रबहादुरले भने।

बिरामी भएका अन्य तीन जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको उनले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको थियो। वर्षायाममा जङ्गलमा पाइने च्याउँ खाने चलन रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस