सहसचिव सरुवामा कर्मचारी असन्तुष्टि, पार्टीको तुष कर्मचारीमा पोख्दै मन्त्री महतो  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सहसचिव सरुवामा कर्मचारी असन्तुष्टि, पार्टीको तुष कर्मचारीमा पोख्दै मन्त्री महतो 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको कर्मचारी सरुवामा चरम बेथिति देखिएको छ । मन्त्री वीरेन्द्र प्रसाद महतोले सहसचिव सरुवामा ‘उल्टापाल्टा’ गरेका हुन् । मन्त्री महतोले अन्तर्गतका विभागीय प्रमुखहरूको सरुवा गर्दा अमिल्दो मात्रै होइन, कर्मचारी बिचमा चरम असन्तुष्टिको बीजारोपणसमेत गरेका छन् । जसले सेवा प्रवाहमा ठूलो असर पर्ने अधिकारीहरूले बताएका छन् । 

मन्त्रीले ४ गतेको निर्णयमा ८ जना सहसचिवको सरुवा गरेका छन् । जसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको सरुवाको विषयलाई लिएर यति बेला मन्त्री–सचिवको चर्को आलोचना भइरहेको छ । महानिर्देशक रहिसकेका कर्मचारीलाई उपमहानिर्देशकमा झार्ने मात्रै होइन, सम्बन्धित समूहकालाई लत्त्याउँदै फरक समूहबाट ल्याएकोप्रति कर्मचारीले असन्तुष्टि जनाएका हुन् । 

मन्त्री महतोले राष्ट्रिय निकुञ्ज समूहका सबैभन्दा ज्येष्ठसमेत रहेका डा. महेश्वर ढकाललाई उपमहानिर्देशकस्तरीय कर्मचारीले नेतृत्व गर्ने चुरे उत्थानशील आयोजना पठाउँदै उनको ठाउँमा जनरल फरेष्ट्रिका सिन्धु ढुङ्गानालाई ल्याइएको छ । आफै सेवा समूह सञ्चालन गर्ने मन्त्रालयसमेत रहेको वन तथा वातावरणमा पाँच वटा समूह रहेका छन् । 

मन्त्रालयमा पछिल्लो समयसम्म पनि विभागीय प्रमुख सम्बन्धित समूहबाटै बनाउने गरिएको मन्त्रालयका कर्मचारीको भनाई छ । विषयवस्तुमा भएको विज्ञताकै कारण विभाग बलियो हुनुका साथै अपनत्व हुने भएकै कारण जिम्मेवारीसमेत लिने भएकोले नतिजा राम्रो आएको तर्क उनीहरूको छ । 

मन्त्रालयले वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरेको छ । विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेर हदका कारण अनिवार्य अवकाश लिएसँगै महानिर्देशक पद रिक्त रहेको थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गर्दै रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेललाई मन्त्रालय ल्याइएको छ । 

सामान्यतया: महानिर्देशक रही सकेको कर्मचारीलाई मन्त्रालयमा सरुवा गर्ने गरिन्छ ।  तर मन्त्रीको ‘मनचाह’ पुरा गर्न नसकेकै कारण डा. ढकाललाई आयोजनातिर हुत्याइएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री महतोले निकुञ्ज–आरक्षमा कानुन विपरीत केबलकार सञ्चालन अनुमति दिनेदेखि कानूनतः नमिल्ने हाइड्रोपावर निर्माण अनुमति र २०६९ सालदेखी चितवन राष्ट्रिय निकुञ्जमा बन्द रहेका ७ वटा होटेललाई बिना प्रतिस्पर्धा सिधै म्याद थप गर्न महानिर्देशकलाई दबाब दिएका थिए, तर ढकालले कानूनतः नमिल्ने काम नगर्ने अडान लिएकै कारण उनलाई सरुवा गरिएको ती स्रोतको दाबी छ ।  

त्यसो त नाम खाली राखेर उठाइएको टिप्पणीमा मन्त्री आफैले नाम भरेको चर्चासमेत मन्त्रालयमा छ । ‘मन्त्री–सचिवले यो सरुवामा नाम राखेर टिप्पणी नउठाउने भनेपछि नाम खाली राखेर अघि बढाइएको थियो’ ती स्रोतले भने, ‘तर ६ महिना अघि महानिर्देशकलाई उपमहानिर्देशक बनाउँदा मच्चिएको खैलाबैलापछि भएको करेक्सन बिर्सेछन् क्यारे !’ यसबारे मन्त्री महतोसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

मन्त्री महतोले आफ्नो निहीत स्वार्थसँगै पार्टी भित्रको तुष कर्मचारीमा पोखेको एकथरीको भनाई छ । महतोलाई मन्त्रीमा नियुक्त गर्दा पूर्व वन मन्त्री प्रदीप यादवले चर्को विरोध गरेका थिए । पार्टीको बैठकमासमेत महतोको मन्त्री नियुक्तिका बारेमा यादव आवाज उठाएसँगै सतहमै आएको विवाद महतोले यता कर्मचारीसँग मिसाउँदा समस्या देखिएको हो । 

पार्टी भित्रको भडास महतोले यादव वन मन्त्री भएका बेला गरिएको खटनपटनलाई नजिकको भन्दै पेल्ने रणनीति अनुसार कर्मचारीहरू चलाएको वन मन्त्रालयकै एक सहसचिव बताउँछन् । ‘मन्त्रीमा नियुक्तभएसँगै पूर्व वन मन्त्री यादवको पालामा नियुक्ति तथा पदस्थापन पाएका व्यक्तिहरूको सूची बनाउन लगाएको सुनिन्थ्यो’ ती अधिकारीले भने ‘आन्तरिक राजनीतिको प्रभाव कर्मचारीमा पर्ने हो भने मन्त्री असफल हुने त पक्का नै छ, सरकारकै काम कारवाहीमासमेत असर हुने देखिन्छ ।’

वन सचिव डा. रेवतीरमण पौडेल पनि मन्त्रीकै एसम्यान भएको आरोप कर्मचारीको छ । कृषितर्फबाट आएका सचिव पौडेलले वन नबुझ्दाकै परिणाम ६ महिना अघिको गल्ती पुनः दोहोरिएको र यसले थप समस्या निम्त्याएको वन अधिकारीहरू बताउँछन् । तर मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेले भने राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशकको पद (विभागीय प्रमुख) समूहीकृत नहुने र आयोजना प्रमुख उपमहानिर्देशकस्तरीय नभएको दाबीसमेत गरे । 

ढकाललाई डायनामिक प्रोजेक्टमा राखेको सचिव पौडेलेको भनाई छ । ‘उहाँ डायनामिक मान्छे, डायनामिक ठाउँमा लगेर राखिदिएको छु मैले’ सचिव पौडेलले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस