सडक भत्किँदा उत्पादित तरकारी खेतमै कुहिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सडक भत्किँदा उत्पादित तरकारी खेतमै कुहिँदै


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।

असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा  खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । 

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए । 

उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिए । “न त सडक छ, न त कोल्ड स्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ”, कृषक अकबरसिंह धामीले भने ।

बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेको आलु व्यासमै कुहिन थालेको छ । “हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन”, अर्का किसान प्रमानन्द भट्टले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस