ट्राफिक प्रहरीद्वारा २ करोड ६२ लाख राजस्व सङ्कलन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्राफिक प्रहरीद्वारा २ करोड ६२ लाख राजस्व सङ्कलन


५ श्रावण २०८०, शुक्रबार


जानकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु २ करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ८ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

‘जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ’, उनले भने। गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारी चालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।

यस्तै आव २०७९/८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार आठ सय ५५ चालकलाई कारबाही गरेको थियो । उनीहरूबाट रु २८ लाख ५५ हजार राजस्व सङ्कलन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस