गलकोट । कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो ।
स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ ।
गाउँपालिकाको त्रिशूल चोकदेखि माझ खर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ । गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझ खर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ । दश किमि सडकमध्ये अहिले छ किमि सडक कालोपत्र भइसकेको छ ।
गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । ‘गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ’, अध्यक्ष विकले भने, ‘अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगामी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।’
सडकको ट्र्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठे खोला गाउँपालिका–५ बिहुँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझ खर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमि सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सडकसमेत कालोपत्रको चरणमा छ ।
गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमि सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । ताराखोलाको माझ खर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन् । ताराखोला–१ माझ खर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिए । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेको माझ खर्कका रोका मगरको भनाइ छ ।
उनले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गरे । पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो ।
विसं २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्य प्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ । उक्त सडक खण्डको छ किमि कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमि सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रेमा पुन : अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिए ।
उनले बर्खा लगत्तै बाँकी रहेको चार किमि सडक कालोपत्रको काम थालिने बताए । ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताए ।
मौसमले साथ दिएमा आगामी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताए । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ ।
निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ । गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।