काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईको कार्यालयमा छापा मारेको छ।
भवन निर्माणको भुक्तानी दिन घुस मागिरहेको सूचनापछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार छापा मारेको हो। उपभोक्ता समितिले सम्पन्न गरेको कार्यको भुक्तानी दिनका लागि कर्मचारीले घुस मागेको आरोप लागेको छ ।
घुस रकम माग गरेको विषयमा आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीलाई देख्नासाथ रकम लिइरहेका इकाईका सब-ईन्जिनियर अजयकुमार साफी रकम र चेक फाली पर्खाल नाघेर भागेका टोलीका एक कर्मचारीले जानकारी दिए ।
‘ती कर्मचारीले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको छ’ उनले भने, ‘कार्यालय खुल्ला रहे पनि कोही कर्मचारी नरहेको पाइएको छ भने कार्यालय प्रमुखको मोवाइलमा पनि सम्पर्क हुन सकेन ।’ थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
उक्त इकाईका प्रमुख दुनियालाल यादवसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।







