कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा


२ श्रावण २०८०, मंगलबार


भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।

यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएकी छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उनको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ’, उनले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । तर विदेशमा गरेको दुःख अरूले नदेख्ने मात्र हो । त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’

राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उहाँको भनाइ छ । विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनले बताए । “यहाँ सोचेजस्तो विदेशमा सहज छैन’, उनले भने, ‘त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ । अहिले परिवारसँग बसेर राम्रो आम्दानी गरिरहेको छु ।’

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताए । उनले व्यवसायबाट वर्षमा रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताएँ । सोचेजस्तो आम्दानी गर्न सकिनँ’, उनले भने, ‘अहिले व्यावसायिकरूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’

विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।

‘विदेशका तीन देशमा गरेर १५ वर्ष पसिना बगाएँ’, उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । त्यहाँ पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालाबाट यही राम्रो आम्दानी गरिरहेको छु ।’

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने स्थानीय राउतको भनाइ छ ।’ठूलो सपना देखेर विदेश गएँ’, उनले भनिन्, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्धरूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’

बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनको भनाइ छ । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनले बताए ।

टेम्केमैयुङ गाउँपालिका एकराज विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेती गरिरहेको बताए । गत वर्षबाट खेती सुरु गरेकाले अबको केही वर्षमा वार्षिक रु छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक उनको भनाइ छ ।

‘हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने, ‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न हिनतावोध गर्छौँ । अब हामी युवा यही नै केही गर्न आवश्यक छ । विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।’

युवाहरूले विदेश जानभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उनको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरूपमा काम सुरु गरेको उनले बताए ।

‘व्यावसायिकरूपमा फलफूल खेतीमा लागेको छु’, उनले भने, ‘गत वर्षबाट खेती विस्तार गरेको छु । अबको केही समयबाट वार्षिक रु छदेखि आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।’ विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमा परिवारसँग बसेर कृषिबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस