विधेयक पारित भएपछि मिटरब्याज पीडितले मनाए खुसी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विधेयक पारित भएपछि मिटरब्याज पीडितले मनाए खुसी


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधि सभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले राजविराजसहित मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् ।

मिटरब्याजपीडित संघर्ष समितको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा, पर्साका पीडितहरूले र्याली निकालेका हुन् । सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरूले माग पनि गरेका छन् ।

 संघर्ष समिति सप्तरीका संयोजक तयाब अलीले भने, ‘जुन कानुनको लागि एक वर्षदेखि आन्दोलनमा थिएँ, त्यो पारित भएकाले निकै खुसी लागेको छ । मिटरब्याजविरुद्धको विधेयक पास हुनु मिटरब्याजपीडितको ठूलो सफलता हो । अब सरकारले बनाएको कानुन तत्काल लागू गरेर कार्यान्वयन गर्न आग्रह गर्दछु ।’ 

संघर्ष समितिका मधेस प्रदेश संयोजक मनोज पासवानले पनि सदनबाट मिटरब्याजविरुद्धको विधेयक पास हुनु मिटरब्याजपीडितको ठूलो सफलता भएको बताए । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनले बताए । 

अझै पनि धेरै मिटरब्याजपीडित न्यायको पर्खाइमा रहेको भन्दै उनले अन्याय गरिरहेकाहरूलाई अब कानुनको दायरामा ल्याउनुपर्ने धारणा राखे । आइतबार बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक– २०८० संशोधनसहित पास गरेको हो । जसमा  मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस