अयोग्य म ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अयोग्य म !


१ श्रावण २०८०, सोमबार


मन्त्री हाकिमसँग मिलेर काम गर्न नजान्ने म,
माथिबाट भनेको कुरा टपक्क टिपेर नमान्ने म,
ठुला बडाको आदेश भन्दा कानुन ठूलो हुन्छ भन्ने म,
त्यसैले त सधैँ पेलिएको अड्डामा रमाउनु पर्ने अयोग्य म !

जस्तो सिफारिस आउँदा पनि यो काम हुँदैन भन्ने म,
हाकिमले काम गर्न जान्दैन भन्दा पनि सहेर बस्ने म,
हाकिमको घरमा बेला मौकामा बहाना पारेर नजाने मूर्ख म,
जसरी होस् राम्रो अफिस हात पार्न नखोज्ने अयोग्य म !

दिनभरि कार्यालयको कुर्सी कुरेर बस्न सक्ने म,
काम नहुँदा यताउति गएर कुरा मिलाउन नसक्ने म,
हजुरले भनेको मेरो लागि शिरोपर्य हो नभन्ने म,
त्यसैले सबैको नजरमा सहयोग नगर्ने अयोग्य म !

पदकको लागि आफ्नो नाम सिफारिस गर्न नजान्ने म,
विदेश भ्रमण घुम्न होइन, कामको लागि होस् भन्ने चाहने म,
भनेको अफिस पाउनका सबै कुरा स्वीकार गर्न नचाहने म,
त्यसैले सबैको नजरमा देखिएको सबैभन्दा अयोग्य हुँ म !

हाकिम रिझाएर भनेर मानेर काम गर्न नसक्ने म,
जाबो एउटा ठेक्कामा त हाकिमको कुरा नसुन्ने म,
काम फलानोलाई तत्काल दिनु भन्दा हुँदैन भन्ने म,
सबै कुराको लागि कसरी योग्य हुने भनेर नजान्ने म !

Tags :
प्रतिक्रिया दिनुहोस