काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताए।
महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो। गम्भीर विषय बोल्नु भयो। यसबारे जवाफ दिनुपर्छ,’ आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ।’
उनले सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गरे। सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको भन्दै त्यसको पनि खण्डन गरे।
‘सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ। एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो,’ उनले भने, ‘यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि, रास्वपाले बोलेपछि सबै प्रतिपक्षले बोले। त्यसो होइन, रास्वपाको आफ्नै अडान मुद्दाहरू छन्। कतिपय मुद्दामा समान धारणा हुन सक्छन्।’
उनले सरकारले प्रतिपक्षीलाई देखाएर मिटर ब्याजसम्बन्धी विधेयक अघि बढाउन पन्छिएको आरोप लगाए। महत्त्वपूर्ण कानुन समय घर्काएर ल्याउने र प्रतिपक्षी देखाएर पन्छन खोज्नु उपयुक्त नभएको पनि बताए।
‘हामी मिटर ब्याजसम्बन्धी कानुनको पक्षमा छौँ। सरकारले अन्तिम दिन ल्याएर देखाउन खोजेको थियो। प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमै टुङ्ग्याउन सकिन्छ।, प्रतिपक्षलाई देखाएर दिएन भनिएको छ। सबै प्रतिपक्ष एउटै होइन नि, हामी त्यसको पक्षमा छौँ, तुरुन्तै कानुन बनाइनुपर्छ भन्नेमा छौँ,’ उनले भने।
प्रमुख प्रतिपक्षी दल एमालेसँगको समझदारीपछि आज प्रतिनिधि सभा बैठक चल्ने बताइएको थियो।
तर, संसद् सचिवालयले सोमबारसम्म बैठक स्थगित गरेको छ।