एक अर्ब १० करोड सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित ११ जना विरुद्ध मुद्दा दायर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक अर्ब १० करोड सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित ११ जना विरुद्ध मुद्दा दायर 


२१ असार २०८०, बिहिबार


सम्पत्ति शुद्धीकरण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फर्जी कागजातका आधारमा कर्जा लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा कम्पनीसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिहीबार विभागले उनीहरूविरुद्ध एक अर्ब १० करोड ४३ लाख ३६ हजार बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। 

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन फर्जी कागजात खडा गरी कुमारी बैंक लिमिटेडबाट कर्जा लिएको आरोपमा लिखतसम्बन्धी कसुरमा दायर मुद्दा माथि विभागले सम्पत्ति शुद्धीकरणमा छानबिन थालेको थियो। 

मिलेमतोमा फर्जी कागजातका आधारमा कर्जा दिए/लिएको दाबीसहित विभागले मुद्दामा कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र तत्कालीन न्युरोड शाखाका प्रमुखसमेतलाई प्रतिवादी बनाएको छ। 

कर्जामा मेरलायन इन्टरप्राइजेज कम्पनी प्रा.लि. प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरिएकोले कम्पनीसहितलाई प्रतिवादी बनाएर विभागले मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को (क), (ख) र (ग) ले निषेधित गरेको कार्य गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस