‘३२ वटा आयोग बने तर शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान भएन’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘३२ वटा आयोग बने तर शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान भएन’


२१ असार २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्याबारे वनमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको बैठकमा उनले २०५८ सालमा आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरूको समस्या समाधानका लागि पटक-पटक आयोग बने पनि समाधान नभएपछि चौधरीले संसदीय समिति बनाएर पीडितको समस्या समाधानका लागि काम गर्न प्रस्ताव समेत राखेका छन्।

‘कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या २२ वर्षदेखि लम्बिरहेको छ। ३२ वटा आयोग बनेको छ। पीडितहरू कम्प्लेन गरिरहेका छन्’ चौधरीले भने, ‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्याबारे संसदीय समिति बनाएर अनुगमनमा जाऔँ। यसमा समिति सभापति, वनमन्त्री र सचिवको ध्यानाकर्षण गराउँदछु।

चौधरीले विषय उठाएपछि वनमन्त्री वीरेन्द्रप्रसाद महतोले अर्को आयोग बनाउने बताए।

‘शुक्लाफाँटा आरक्षबाट विस्थापितहरूको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गरेर त्यसमा जान लागेका छौँ। अरू ठाउँमा अतिक्रमण गरेको ठाउँमा दिने कि छुटाउने भन्नेमा कस्तो दोधार छ भने कतिले राहत पनि पाइसकेको छ, कतिले पाउन पनि बाँकी छ,’ मन्त्री महतोले भने, ‘राहत पाउनेले त्यहाँबाट हट्न मानिरहेको छैनन्। नपाउनेको त्यहीँ बसे पनि समस्या छ। आयोगहरू थुप्रै बन्यो। राजनीतिकरण हुने रहेछ। राजनीतिकरण छोडिदियो भने तीन दिनभित्र यो समाधान हुन्छ। तर के छ भने यस्तो पेचिलो तरिकाले आयोग बनाउने, रिपोर्ट दिने र फेरि आयोग बनाउने, रिपोर्ट दिनेगरी राजनीतिकरण भएको छ। यस पटक हामी विगतजस्तो होइन अधिकार सम्पन्न आयोग गठन गरेर लाग्छौँ। यसलाई मुख्य प्राथमिकताका रूपमा लिएका छौँ। सांसदको सुझावलाई गहन रूपमा लिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस