काठमाडौँ । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउने भएको छ।
आर्थिक वर्ष २०८०-०८१ का लागि उक्त रकम बराबरको बजेट ल्याउन लागेको बोर्डले जनाएको छ ।
मङ्गलवार बोर्डमा आयोजित अन्तर्क्रियामा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने बताए।
बाँकी रकम पर्यटन पूर्वाधारमा खर्चिने बोर्डको योजना छ।
पछिल्लो समय पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ।
विदेशी पर्यटक बढाउन सरकारसँग हातेमालो गर्दै अघि बढ्ने समेत सिइओ रेग्मीले बताए। उनका अनुसार बोर्डले विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम, फ्याम ट्रिप, बिटुली मिटिङ लगायत कार्यक्रम मार्फत प्रवर्द्धन गर्नेछ।