आयरल्यान्डविरुद्ध नेपाल ब्याटिङमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयरल्यान्डविरुद्ध नेपाल ब्याटिङमा


१९ असार २०८०, मंगलबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि आयरल्यान्डका कप्तान एन्डी बलबिर्नीले फिल्डिङको निर्णय गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि सातौँ स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराएको थियो । आयरल्यान्डले प्लेअफमा अमेरिकालाई पराजित गरेको थियो ।

छनोटको समूह ‘ए’मा रहेको नेपालले चारमध्ये एकमा जित र तीन खेलमा हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । समूह ‘बी’को आयरल्यान्डले पनि चारमध्ये एकमा जित र तीन खेलमा हार व्यहोरेको थियो । दुवै टिम समूहमा चौथो भएका थिए ।

विश्वकप छनोटमा कुल १० टिम सहभागी थिए । छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (युएई), श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान थिए ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा पुगे । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस