बस्ती जोगाउन तटबन्ध निर्माण गरिदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बस्ती जोगाउन तटबन्ध निर्माण गरिदै


१९ असार २०८०, मंगलबार


काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । 

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी-२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ । 

राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठुला ढुङ्गाको साहारामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । उनका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने क्रममा रहेको छ । 

“तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठुला ढुङ्गाको साहारामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ”, उनले भने, “मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।”

तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो । तटबन्ध निर्माणकार्य गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)ले बताए ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो । अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताए । 

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुङ्गा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस