काठमाडौँ । बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्बद्ध विभिन्न संस्था र कम्पनीहरूको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ ।
प्रहरीले अनुसन्धान थालेपछि विभागका लागि समेत अनुसन्धान गर्न पत्राचार भएको र ढिलाइ भएमा उनको सम्पत्ति अन्यत्र जाने वा बेचबिखन हुने जोखिम बढेपछि तत्काल रोक्का राख्ने निर्णय भएको विभागले जनाएको छ । विभागका अनुसार, यीमध्ये कतिपय सम्पत्ति प्रहरीले समेत रोक्का गरेको छ ।
नेपालगन्जसम्म सहकारी र त्यसका शाखा खोलेका उनले ती ठाउँमा सम्पत्ति जोडेको भेटिएको छ । सम्पत्ति खोज्ने क्रममा उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको विभागको भनाई छ । विभागले साउनको दोस्रो सातादेखि शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको छ ।