ट्रेजरी बिलमार्फत साढे २९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्रेजरी बिलमार्फत साढे २९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


१८ असार २०८०, सोमबार


काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत साढे २९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आज (सोमबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । ट्रेजरी बिलमार्फत मात्र सरकारले २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

आन्तरिक ऋणमध्ये २४ अर्ब ६५ करोड ६५ लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलमार्फत र बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो । यो वर्ष सरकारले नयाँ भन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनस् बिक्री गरिरहेको छ । सोही क्रममा सोमबार पनि साढे २४ अर्बको पुरानो ट्रेजरी बिललाई रोलओभर (पुनः बिक्री) गर्न लागेको हो ।

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मङ्गलवार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसपटक २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण सङ्कलन गरिरहेको छ । पछिल्लो पटकको बोलकबोलमा ७.१९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७.४४ प्रतिशत र सबैभन्दा कम ३.६७ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको थियो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा विभाजन गरिएको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारको १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । त्यसमध्ये अधिकांश आन्तरिक ऋण उठाइसकेको छ भने निकै कम मात्र उठाउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस