शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छ : प्रधानमन्त्री प्रचण्ड


१८ असार २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् ।

सोमबार दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्म जयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले विश्वका विकसित देशका राजनेताहरूले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए । उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्त्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’

उनले दिवङ्गत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए । कोइरालाको राजनीतिक सुझबुझ र दुरदृष्टीकै कारण अहिलेको परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्रीले भने, ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ । यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’

उनले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोसिस भइरहेको बताए । उनले भने, ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्‍यौँ, जनताको अवस्था बदल्न सकेनौं त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

उनले कोइरालाको चाहना विपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गरे । प्रधानमन्त्रीले बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिरहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको स्मरण पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस