एसइई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसइई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी


१७ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डको भनाइ छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुङ्गो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ । आइतबार सम्म बैठक डाकिएको छैन । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । यसपालि एसइई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने बोर्ड सदस्यहरूको मत बलियो छ ।

निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने व्यवस्था छ भने २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याएपनि विद्यार्थी पास हुने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस