काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका वडा नं. ७ का स्थानीयलाई स्वास्थ्य चौकीसम्म पुग्न अहिले सहज भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी जाने बाटो निर्माण तथा मर्मत भएपछि स्थानीयलाई सहज भएको हो । एकातर्फ स्थानीयले रोजगार पाएका छन् भने अर्कोतर्फ बिरामी हुँदा स्वास्थ्य चौकी पुग्न सहज भएको छ ।
स्थानीय प्रेमकुमारी चन्द (४७)ले भनिन्, ‘ स्वास्थ्य चौकी जाने बाटो तीनदेखि चार मिटरसम्म चौडा बनाएका छौँ । बाटो चौडा भएपछि बिरामीलाई स्टेचरमा लैजान मिल्ने भएको छ ।’ स्वास्थ्य चौकी जाने बाटो बनाउने क्रममा विभिन्न स्थानमा पर्खाल उठाउने काम पनि गरिएको छ । यसबाट करिब साढे २ सय घरधुरी लावान्वीत भएका छन् ।
‘प्राविधिकले गरेको स्टिमेट अनुसार हामीले काम गरेका हौँ ।’ उनले भनिन्, ‘पारिश्रमिकको लागि मात्रै नभएर आफ्नै गाउँको विकासका लागि हामीले काम गरेका छौँ ।’ चन्दले सरकारले रोजगारी दिँदै गर्दा गाउँको विकासमा समेत टेवा पुगेको बताइन् ।
बाटो चौडा बनाएपछि सुत्केरी लगायतका बिरामीलाई स्टेचरमा स्वास्थ्य चौकीसम्म लैजान सहज भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष १६ सय ४० मिटरको काम सम्पन्न भएको हो । करिब २२ सय मिटर बाटो बनाउन बाँकी छ । बजेट थप भएमा बाँकी काम पनि सम्पन्न गर्ने योजना रहेको चन्दले सुनाइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी दिएर जीविकोपार्जनमा सहजता बनाइदिएको उनले बताइन् । यो वर्ष चन्दले तीन वटा बाटोको योजनामा काम गरिन् । स्वास्थ्य चौकी जाने बाटो, वडा कार्यालय जाने बाटो र कृषि कलेज जाने बाटोमा उनले श्रमदान गरेकी छन् । जसले गर्दा उनलाई साँझ बिहान हातमुख जोर्ने बाटो बनेको छ । ‘छोरी ११ वर्षकी छ । ७ कक्षामा पढ्छ । श्रीमान् पनि बेरोजगार नै छन् । आफ्नो बारीमा उब्जेकोले अन्नबालीले ६/७ महिना खान पुग्छ । काम पाइँदैन । काम खोज्दै गर्दा दिन बित्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम नभएको भए भोकै बस्नु पर्ने अवस्था आउन सक्थ्यो ।’ उनले भनिन्, ‘अन्त काम खोज्न जान उमेर घर्की सक्यो । दुःख पाएकोलाई रोजगार दिने सरकार हाम्रो लागि भगवान् नै हो ।’
स्वदेशमै काम गर्न सहज
रोल्पा नगरपालिका वडा नं. ९ का पृथ्वी प्रकाश डाँगी (३३)ले डन्डीवियो खेल्ने क्रममा दायाँ आँखा गुमाए । १० वर्षको उमेर दायाँ आँखा गुमाएका डाँगीले आर्थिक अवस्था कमजोर हुँदा धेरै पढ्ने इच्छा पुरा हुन सकेन । रोजगारीका लागि भारत गए पनि उनलाई त्यहाँ पनि सहज भएन ।
साथीभाइसँग खेल्ने क्रममा दायाँ आँखा गुमाएका डाँगीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम वरदान साबित भएको छ । गत तीन वर्षदेखि उनी प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनले मोटर बाटो निर्माण, नाली निर्माण, शहिद पार्क निर्माण, भवन निर्माण जस्ता काम गरेका छन् ।
रोजगारीका लागि विभिन्न मुलुक भौँतारिएका उनी मजदुरी गर्न नेपाल नै सहज हुने बताउँछन् । ‘परिवारको साथमा बस्न पाउनु पनि राम्रो हो ।’ उनी भन्छन्, ‘५७७ रुपैयाँ दैनिक ज्याला आउँछ । यो वर्ष भरी आउने व्यवस्था बनाइदिए ज्याला कम भए पनि काम गथ्र्यौं ।’ तर, तीन महिना काम पाइन्छ । बाँकी नौ महिना खाली बस्नु पर्छ । यसबारे सरकारले सोचिदिए हुन्थ्यो उनको भनाइ छ ।
उनका अनुसार पारिश्रमिक घर खर्चमै सीमित छ । ‘साढे तीन वर्षको छोरा छ । उच्च शिक्षा पढाउने मन छ । तर, आर्थिक अवस्थाले समस्या छ ।’ उनले भने, ‘भविष्यमा मैले जस्तो दुःख छोरोले नपाओस् भन्ने चाहना छ । सँगैका साथीले जागिर खाएको देख्दा रहर लाग्छ ।’
छोरी पढाउने धोको
आफ्नो सम्पत्तिमा उब्जेको अन्नबालीले ५÷६ महिना मात्र खान पुग्ने वडा नं. ९ गोलवाङकी सङ्गीता पुन मगरलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीले जीविकोपार्जनमा सहजता भएको छ । कार्यक्रम अन्तर्गत नाला खन्ने, स्वास्थ्य चौकी भवन मर्मत गर्ने जस्ता काम उनले गरेकी छन् । ‘जाली भर्ने, बाटोमा पर्खाल लगाउने काम गरेकी थिए । यसबाट आएको पारिश्रमिकले रासन पानी किनेकी छु ।’ उनले भनिन्, ‘छोरी पढ्दै छ । उनलाई खर्च जुटाउने काम पनि भएको छ ।’
पुन मगरकी छोरी एक कक्षामा पढ्छिन् । छोरीलाई पढाउने धोको राखेकी उनलाई वर्ष भरी काम पाए राम्रोसँग पढाउन सकिने लागेको छ । ‘बाँकी दिन कता काम पाइएला भनेर भतारिनु नपर्ने स्थिति आए हुन्थ्यो ।’ उनले भनिन् ।’
फेरी बिदेसिन नपरोस्
रोल्पा नगरपालिका वडा नं. ५ वाजावाङका मानकुमार महरा (३०) भन्छन्, ‘म त यति बेला आफूलाई भाग्यमानी ठान्दछु । परिवारसँगै खान–बस्न र दुःख–सुख साट्न पाएको छु ।’ रोजगारीका लागि तीन वर्ष मलेसियामा बिताएका महराले अहिले परिवारसँगै बस्न पाउँदा आफूलाई भाग्यमानी ठानेका हुन् ।
मलेसिया बसाइँ पनि आफू अनुकूलको नभएपछि उनी स्वदेश फर्किएका हुन् । नेपाल फर्किएपछि उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा फर्म भरे र त्यहाँ सूचिकृत भएपछि १ सय दिनको रोजगारी पाए । उनी गत वर्षदेखि प्रधानमन्त्री रोजगारमा आबद्ध छन् ।
प्रधानमन्त्री रोजगारमा आबद्ध भएर उनले बाटो खन्ने, पाइप लाइनको काम गर्ने, सामुदायिक भवनहरू निर्माण गर्ने जस्ता काम गरेका छन् । उनका अनुसार यसले एकातर्फ उनको रोजीरोटी चलेको छ भने अर्कोतर्फ गाउँ विकास पनि भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जरिङ खोलाबाट वाजावाङमा पानी ल्याउने काम भएको छ । धारोमा पानी आउन थालेपछि स्थानीय खुसी छन् । ‘४० एमएमको पाइपमा पानी आयो ।’ उनी भन्छन्, ‘रोजगारी पायो, पानीको पनि आयो ।’ वाजावाङमा पुरानो लाइनमा पानी सानो आउने समस्या थियो भने धारा पनि कम आउँथ्यो ।
धारा थप्न र पाइप मर्मतका लागि प्रधानमन्त्री रोजगार अन्तर्गत श्रमदान गरिएको थियो । पानी ल्याउन अन्य वडाका श्रमिकहरूले पनि सहयोग गरेका थिए । पाइप पुर्ने काम भएको उनले बताए । टङ्की बनाउने काममा नगरपालिकाको सहयोग थियो ।
‘गाउँमै रोजगारी पाउनु राम्रो हो । रोजगारीसँगै सीप सिकाएमा राम्रो हुन्छ ।’ महराले भने, ‘१ सय दिन मात्र नभएर वर्ष भरी नै काम दिए राम्रो हुन्थ्यो ।’ कमाएको पैसा लत्ताकपडा र खानै ठिक्क हुने उनले सुनाए । आफ्नो सम्पत्तिमा उब्जेको अन्नबालीले वर्षभर गुजारा नहुने उनको भनाइ छ ।
‘पाखुरा नबजारी सुखै छैन । विदेश जाने सोच छैन । सबैले विदेश जा भन्छन् । तर, यहाँ रोजगारी नपाउँदा जहान केटाकेटी पाल्नु पर्यो । छोरी पढाउनु नै पर्यो । रोजगारी नपाए जानुको विकल्प छैन ।’ उनले भने, ‘हाम्रो दुःखमा सरकारले साथ देओस् । फेरी विदेश जान नपरोस् ।’
कसरी छनोट हुन्छन् योजना र श्रमिक ?
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालयको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । वडाभरिका बेरोजगार व्यक्तिले बेरोजगार व्यक्तिको सूचीमा दर्ताका लागि दिएको निवेदन सङ्कलन गर्ने, रुजु गर्ने तथा सत्य र पूर्ण विवरणलाई रोजगार सेवा केन्द्रमा बुझाउने काम वडाको हुने गर्दछ । बेरोजगार व्यक्तिको पहिचान प्रक्रिया र रोजगारी प्रदान गर्ने प्रक्रियामा सिर्जना भएका गुनासाहरूको सङ्कलन गरी रोजगार सेवा केन्द्रमा बुझाउने काम पनि वडाले नै गर्दछ ।
वडा नं. ७ का अध्यक्ष लालबहादुर घर्तीका अनुसार स्थानीयको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर योजनाहरू छनोट गर्ने गरिएको छ । यस अन्तर्गत पूर्वाधार निर्माण, भवन निर्माण, बाटो निर्माण तथा मर्मत, खानेपानी निर्माण तथा मर्मतलाई प्राथमिकतामा राखिएको हुन्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थान र योजनाहरू छनोट गर्ने, काम कसरी भइरहेको छ अनुगम र निरीक्षण गर्ने काम वडाले गर्ने गरेको छ । वडाकै निगरानीमा काम हुने गरेको उनले बताए ।
वडा स्तरका रोजगार आयोजनाहरूको तर्जुमा, कार्यान्वयन र अनुगमनमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई आवश्यक सहयोग गर्ने काम पनि वडाबाट हुने गर्दछ । कहिलेकाहीँ स्थानीयले कुरा नबुझेका कारण गुनासो आउने गरेको उनको भनाइ छ । ‘प्राथमिकताका आधारमा कार्यक्रममा आबद्ध गराइने हुँदा फर्म भरेका सबैले रोजगारीको अपेक्षा गरेका हुन्छन् त्यो अनुसार नहुँदा गुनासो आउने गर्दछ ।’ उनले भने, ‘हामी किन छनोटमा परेनौँ भन्ने चासो हुन्छ ।’
श्रमिकहरू छनोट गर्नका लागि फर्म भर्ने व्यवस्था गरिएको छ । फर्म भर्दा नै आदिवासी जनजाति, द्वन्द्व पीडित, वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई प्राथमिकतामा राखिएको छ । १८ वर्षदेखि ४० वर्ष उमेर समूहकालाई प्राथमिकतामा राखिएको छ । फर्म भर्नेमा महिला श्रमिकहरू बढी छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्राविधिक सहायक भुवन शर्माका अनुसार फर्म भरेको आधारमा बेरोजगारहरूको सूची प्राथमिकताको आधारमा निर्धारण गरिन्छ । उनेले भने, ‘फिल्डमा गएर पनि प्रमाणीकरण गर्ने गरिन्छ ।’
पूर्वाधार, सिँचाइ, खेलकुद जस्ता योजनाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने गरिएको उनले बताए । योजना अन्तर्गत भएका कामहरूको बेला बेलामा अनुगमन पनि हुने गर्दछ । नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायतको टोलीले बेलाबेला अनुगमन पनि गर्ने गरेको उनले जानकारी दिए ।
समन्वय कसरी हुन्छ?
सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक निर्माणका कार्यक्रमहरूमा श्रममूलक प्रविधिको प्रयोगलाई प्राथमिकता दिई बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारी उपलब्ध गराउने कार्यक्रमको कार्यक्षेत्र रहेको छ । सोही अनुसार रोल्पा नगरपालिकामा पनि सडक, खानेपानी, शिक्षा, सामुदायिक पूर्वाधारमा रोजगारी सिर्जना गरिएको छ ।
यसरी सिर्जना भएका योजनालाई आवश्यक पर्ने सामग्री वडाले उपलब्ध गराउने गरेको छ । वडाबाट सामग्रीहरू किन्ने र प्रधानमन्त्री रोजगारबाट श्रम उपलब्ध गराउने गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए । अग्नी रेखा बनाउने काम पनि भएको छ भने जलजला क्याम्पसदेखि माथि जाने बाटो बनाउँदा सामग्री उपलब्ध गराएको उनले बताए ।
डाँगीका अनुसार सबै सरकारले नै गरिदिनु पर्छ भन्ने भावना हटेको छ । हाम्रो लागि हामी आफै काम गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । टोल अनुसार कामको बाँडफाँड गरेर काम गराउने गरिएको उनले बताए ।
रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले प्रधानमन्त्री रोजगार कार्यक्रम आफैमा उत्कृष्ट कार्यक्रम भएको बताए । ‘राज्यले रोजगारी दिने भन्ने सोच बदल्न जरुरी देखिन्छ ।’ उनले भने, ‘सूचिकृत बेरोजगार युवाहरूको विवरण सङ्कलन अद्यावधिक स्किल म्यापिङ, स्किल अपग्रेडिङ, श्रम बजारको माग र आवश्यकताको आधारमा सघन प्रकारका तालिमहरू सञ्चालन गरी युवाहरूलाई छोटो अवधिका रोजगारले अलमलाउने भन्दा पनि सीप र उद्यमशीलता विकासमै जोड दिनुपर्ने देखिन्छ ।’
वैदशिक रोजगारबाट फर्केका युवाहरूले आर्जेको आर्थिक सँगसँगै सामाजिक विप्रेषणलाई समेत मध्य नजर गरी स्वदेशमै उपयोग गर्न नीतिगत प्रोत्साहन र सहुलियत जरुरी छ । यो कार्यमा स्थानीय तहको रोजगार शाखाकालाई थप सशक्तीकरण गरी तीनै तहका सरकारको समन्वयन र सहकार्य जरुरी रहेको पराजुलीले बताए ।
प्रवक्ता डाँगीका अनुसार रोजगारलाई स्वरोजगार नै बनाउने हो भने एक सय दिन रोजगारी मात्रै नभएर सीप सिकाउनु पर्छ । र अर्कोतर्फ यो काम प्रधानमन्त्री रोजगारबाट बनेको हो भन्ने बनाउनका लागि प्याकेजमा नै काम गर्नु पर्छ ।
यसैगरी वडा नं. ७ का अध्यक्ष घर्तीको बुझाइ पनि यस्तै छ । ठुला योजनाहरू पनि समेट्न सकेमा राम्रो हुने उनले बताए । आयोजनाहरूमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरू पनि खरिद गर्न सक्ने व्यवस्था भएमा थप प्रभावकारी हुने उनको सुझाव छ ।
सूचिकृत हुनेको संख्या बढ्दो
रोल्पा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत हुनेको संख्या वर्षेनी बढ्दो छ । आव २०७६/७७ मा ७६३ जना सूचिकृत भएकोमा आव २०७९/८० मा उक्त संख्या बढेर १ हजार ६४२ पुगेको छ ।
नगरपालिकामा आव २०७९/८० मा सूचिकृत बेरोजगारको संख्या १ हजार ६४२ रहेको छ । जसमा पुरुष ७७१, महिला ८७० र अन्य १ रहेको छ । जसमा १४२ जना रोजगारीमा खटिएका छन् ।
आव २०७८/७९ मा सूचिकृत बेरोजगारको संख्या १ हजार ५५५ रहेको छ । जसमा पुरुष ९९२ र महिला ५६२ रहेका छन् । जसमध्ये ३२२ जनाले रोजगारी पाएका थिए ।
आव २०७७/७८ मा सूचिकृत बेरोजगारको संख्या १ हजार २२८ रहेको छ । जसमा पुरुष ८२७ र महिला ४०० रहेका छन् । जसमध्ये २९३ जना रोजगारीमा खटिएका थिए ।
आव २०७६/७७ मा सूचिकृत बेरोजगारको संख्या ७ सय ६३ रहेको छ । जसमा पुरुष ४३२ र महिला ३२८ रहेको छ ।
नगरपालिकामा सञ्चालित आयोजनाहरू
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोल्पा नगरपालिकामा २०७९ मा ५७ वटा आयोजनाहरू सञ्चालित छन् । जसमा नेपाल सरकारका ३७ वटा आयोजनामा १०० श्रमिक खटाइएका छन् । विश्व बैंकका २० आयोजनामा ४० श्रमिक खटाइएका छन् ।
रोजगार संयोजक मिसाना घर्तीका अनुसार वडा नं. १ का आयोजनाहरूमा मेन बाटो तल्लो मुलपानी गारेटोबाटो, उपल्लो जापा गोरेटो बाटो, फल्लेधारा बालिका गोरेटो बाटो, तल्लो जापा गोरेटो बाटो, कार्भेखर्क सागर ग्यारेजसम्म पक्की गोरेटो बाटो, सिगाना गर्पा पुल गोरेटो बाटो, सिवाङडाँडा गोरेटो बाटो रहेका छन् ।
वडा नं. २ मा धानमुढा भवन, गेलखोला गोरेटो बाटो, बझंगे नाला निर्माण, तोनिवाङ गोरेटो बाटो, खल्धारा उपल्लो गोरेटो बाटो निर्माण भएको छ । यसैगरी वडा नं. ३ का आयोजनाहरूमा कुना पानी वेदधारा वडा कार्यालय हुँदै लाखुरी जाने गोरेटो बाटो, मोटर बाटो पक्की नाला सफाई र लाखुरी पोखरा मोटर बाटो रहेका छन् ।
वडा नं. ४ का योजनाहरूमा तित्रिकोट वाइगाउँ पक्की गोरेटो बाटो, शिवालय मन्दिर कालिमाटी गोरेटो बाटो, शिक्षा भवन लहरी खोला गोरेटो बाटो, भेटघाट होटेल लहरी खोला अनेरिखोला नाला सफाई, रानीवन ढुङ्गा मोटर बाटो, तित्रिकोट फुस्रेथाङ्गा गोरेटो बाटो रहेका छन् । वडा नम्बर ५ का योजनाहरूमा भलवाङ सामुदायिक भवन निर्माण, लाल्टीवाङ सामुदायिक भवन निर्माण, बाजावाङ सामुदायिक भवन निर्माण र लाखुरी पोखरा मोटर बाटो रहेका छन् ।
वडा नं. ६ का योजनाहरूमा कोजक धावाङ गोरेटो बाटो, नर्कवाङ जलाशय, ब्राइतल्याण्ड युथकल्वको नाला सफाई तथा गोरेटो बाटो मर्मत रहेका छन् । वडा नं. ७ का योजनाहरूमा सालघारी वाघा गोरेटो बाटो, रम्जावेसी युवाक्लव कृषि भवन कलेज गोरेटो बाटो, ह्यालखोला डाँडा स्कुल स्वास्थ्य भवन गोरेटो बाटो, लाखुरी घमरुक गोरेटो बाटो, शहिद मार्गदेखि चङ्लिङ् जाने गोरेटो बाटो रहेका छन् । यसैगरी वडा नम्बर ८ का आयोजनाहरूमा बनहर रुन्वाङ हेलिवाङ् पूर्व गोरेटो बाटो, दमाकुर पोखरा वागदुरा गोरेटो बाटो, ओवाङ कार्पाभिर जरिवाङ् गोरेटो बाटो, लोसेवाङ नुनथला गोरेटो बाटो, नम्ली स्कुल चौधारा तमारे झिम्लिङ गोरेटो बाटो रहेका छन् ।
वडा नं. ९ का आयोजनाहरूमा वडा मोटर बाटो नाला, वडा कार्यालय थप तथा मर्मत, दुलिडाँडा शहिद पार्क, जलजला प्रा.वि. भवन मर्मत, गाउँघर क्लिनिक हाङ्माङ् कम्पाउन्ड वाल मर्मत रहेका छन् । वडा नम्बर १० का आयोजनाहरूमा मुन्वाङ धाङ्सी गोरेटो बाटो, सुनवाङ मंसिर मेला गोरेटो बाटो, धवाङ गापा गोरेटो बाटो, कुत्येधारा चिप्लेधारा गोरेटो बाटो, काफल धारा गोरेटो बाटो मर्मत, विश्वतेज माहुरी खोला राजाँजुझे गोरेटो बाटो रहेका छन् ।