पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


१५ असार २०८०, शुक्रबार


रामपुर । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

करिडोरको रामपुर पिपल डाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ । पहिरो हटाउन करिब चारदेखि पाँच घण्टाको समय लाग्ने यात्रामा निस्केका सञ्चारकर्मी प्रकाश ज्ञवालीले जानकारी दिए ।

तानसेन नगरपालिका–५ ढुङ्गा खानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । सिद्धार्थ राजमार्गअन्तर्गत आर्य भन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस