यस वर्ष रासायनिक मलको अभाव नहुने कृषिमन्त्रीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस वर्ष रासायनिक मलको अभाव नहुने कृषिमन्त्रीको दाबी


१२ असार २०८०, मंगलबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस वर्ष धानका लागि आवश्यक रासायनिक मल अभाव नहुने दाबी गरेका हुन्।

उनका अनुसार हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात छ। असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने उनले जानकारी दिए।

आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ सुनिश्चित गरिएको उल्लेख गर्दै उनले भने, ‘चालु आर्थिक वर्षको लक्ष्यअनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भइ बिक्री, वितरण भइरहेको छ । हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरूमा मौज्दात रहेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस