नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन रकम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन रकम


११ असार २०८०, सोमबार


मनाङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराई सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो ।

पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गरेको हो । ‘स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई रु १० हजार उपलब्ध गराइनेछ’, उनले भने

क्यान्सर, मिर्गौलामा समस्या र अन्य जटिल रोगको उपचार गरेर आराम गरिरहेका व्यक्तिलाई रु ३० हजार लिएर ‘स्वास्थ्य भेट’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । आगामी आर्थिक वर्षमा उत्पादन र विकास निर्माणका क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति पालिकाको छ ।
पूर्ण अपाङ्गता भएका र दलित घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नासोले अहिले बढ्दै गइरहेको जलवायु परिवर्तनको असरमा पनि चासो देखाएको छ । “जलवायु परिवर्तन न्यूनीकरणका लागि हिम चितुवा तथा सांस्कृतिक परम्परा संरक्षण, वृक्षारोपण र जनचेतनामूलक कार्यक्रम गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

हिमाली जिल्लाका स्वास्थ्य संस्थामा अधिकांश औषधि पर्याप्त नहुने गुनासो बढिरहेकाले औषधि अभाव हुन नदिने नीति लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसबाहेक वर्षमा कम्तीमा एक पटक बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने पनि बताइएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण, पोषण कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम पालिकाले निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्ष सडक नपुगेका वडामा सडक विस्तार कार्यक्रमलाई प्राथमिकता दिइएको छ । लार्के पास पर्यटकीय पदमार्गको बृहत् गुरुयोजना निर्माण गरी पदमार्ग निर्माणलाई जोड दिइएको छ । अहिले अन्नपूर्ण चक्रीय पदमार्गको दूरी छोटिएका अवस्थामा यसलाई वैकल्पिक मार्गकारूपमा विकास गर्ने योजना पनि पालिकाले बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस