ताप्लेजुङको फक्ताङ्लुङमा एक हप्तादेखि मोबाइल सेवा अवरुद्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ताप्लेजुङको फक्ताङ्लुङमा एक हप्तादेखि मोबाइल सेवा अवरुद्ध


९ असार २०८०, शनिबार


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक हप्तादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । 

फक्ताङ्लुङ गाउँपालिका-६ मुरिङला टावरमा समस्या आएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्पर्कविहीन भएको हो । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा मोबाइल सेवा बन्द हुँदा सूचना आदान-प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका-६ का रोशन लिम्बूले बताए ।

उनले भने, ‘अहिले बाढीपहिरो गइरहेको छ, आफ्ना आफन्तलाई फोन गरौँ भने नेटवर्क छैन ।’ फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध हुँदा सूचना आदान-प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिकाका दिलनकुमार पताङवाले बताए । उनले ने, ‘चार दिन भइसक्यो, गाउँपालिकामा सञ्चारविहीन भएको, सूचना आदान-प्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहसमेत सास्ती भएको छ ।’ 

ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ। एक हप्तादेखि घाम लाग्न सकेको छैन । बिहान-बेलुका पानी परिरहेको छ । बाढीपहिराले कहाँ-कति क्षति गर्‍यो, कहाँ-कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना प्राप्त गर्न समस्या भएको पताङवाले बताए । उनले भने, ‘गाउँपालिकामा हामी सञ्चारविहीन भएर बसेका छौँ, न त फोन आउँछ न जान्छ, सूचनाविहीन बस्नुपरेको छ ।’

फक्ताङलुङ गाउँपालिकामा रहेको टावर बाहेक अरु सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । महतोले भने, ‘ताप्लेजुङका टावर सबै सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिकाको मुरिङलामा रहेको टावरमा मात्रै समस्या छ ।’ 

टावरमा के समस्या आएको हो त्यसको अध्ययन गर्न नेपाल दूरसञ्चार कार्यालय इलामबाट प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्र टावर मर्मत हुने सूचना अधिकारी महतोले बताए । उनले भने, ‘हामीले इलाम कार्यालयमा जानकारी गरिसकेका छौँ । अब कहिले आउँछन् प्राविधिक त्यसपछि सञ्चालन हुन्छ ।

सञ्चार सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा कठिन भएको गाउँपालिकाले जनाएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम साथै बजेट विनियोजनका काम भइरहेको समय समुदायको सल्लाह–सुझाव लिने समयमा गाउँपालिकामा सञ्चारविहीन हुँदा आउँदो आवको योजना बनाउन सास्ती भएको गाउँपालिकाले जनाएको छ 

Tags :
प्रतिक्रिया दिनुहोस