इन्जिनियरिङ सर्भेबिनाको सडक निर्माणकार्य तत्काल बन्द गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्जिनियरिङ सर्भेबिनाको सडक निर्माणकार्य तत्काल बन्द गर्न माग


८ असार २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेबिना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

सांसद खतिवडाले पहाडी जिल्लाहरूमा इन्जिनियरिङ सर्भेबिना सडक निर्माणको काम हुँदा बृहत् रूपमा पहिरो जाने क्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर अपरेटर आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा पहिरो जाने क्रम बढेको उल्लेख गरे।

‘समयमा रोडहरूको निर्माण नहुँदा र बाटो बनाउने नाममा जहाँ पायो त्यही इन्जिनियर इस्टिमेटविना बाटो निर्माण गर्ने कामले गर्दा पहिरो जाने समस्या बृहत् रूपमा आएको छ । अहिले डोजर ड्राइभर आफैँ नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम व्यापक रूपमा यो समस्या आएको छ,’ उनले भने, ‘जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ, लगाएका कामहरू समयमा ठेकदारले पूरा नगर्दा असार आएपछि खोस्रिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय।’

Tags :
प्रतिक्रिया दिनुहोस