भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव


८ असार २०८०, शुक्रबार


नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ ।

अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट नि:शुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ । अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ ।

स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको जानकारी दिइन् । उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गरिन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए । उनले भने, ‘अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो ।’

अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन् । सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुरले टोकेको लगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस